बिर्तामोडमा भीषण आगलागी, ६ करोडको क्षति



झापा,कात्तिक १९ । झापाको बिर्तामोडमा आज भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा इलेक्ट्रोनिक्स पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटेलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा करिब ३ करोड रुपैयाँ, निरिका फार्मेसी तथा गोदाममा १ करोड रुपैयाँ र घरधनी मण्डलको घरमा २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो आसपासका घरमा समेत फैलिएको थियो । आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका सातवटा दमकल परिचालन गरिएको थियो ।

आगो नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीसमेत खटिएका थिए । घण्टौँको प्रयासपछि आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्