जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते, चिउँडोमा लागेको गोली घाँटीमा अड्कियो

जनकपुर,फागुन २२ । जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।
कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा शनिबार राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी नायव उपरिक्षक दिपक रायले जानकारी दिए। चिउँडोमा लागेको गोली भित्र घाँटीमा अड्किएको उनले बताए । मुखियालाई उपचारका लागि राति नै काठमाडौं पठाइएको थियो ।
प्रहरी नायव उपरिक्षक रायका अनुसार मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५-७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएको थियो। प्रहरी उपरीक्षक रायका अनुसार गोली प्रहार गर्ने युवक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।