राष्ट्रिय महिला लिग फुटबल : विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा



विराटनगर,फागुन २७ । चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ ।

विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ। प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन् । दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी प्रतियोगितामा महानगरलाई उपाधि नजिक पु¥याउने लक्ष्यले मैदानमा उत्रिने बताउँछन्। टोलीकी कप्तान कल्पना कार्कीका अनुसार पहिलो संस्करणमा टोली पाँचौँ स्थानमा रहे पनि यसपटक त्यसमा सुधार ल्याउनेछ। टोलीमा पहिलो रोजाइकी गोलरक्षकको भूमिकामा रहने कार्कीसँगै हाल बन्द प्रशिक्षणमा १८ जना खेलाडी छन् । गोलरक्षकको भूमिकामा कार्कीलाई सोनु लामा र करिना धिमालले साथ दिनेछन् ।

त्यसैगरी, टोलीले भारतको वेष्ट बंगाल र झारखण्डबाट समेत ४ जना खेलाडीलाई मैदानमा उतार्नेछ। टोलीलाई यतिबेला मुख्य प्रशिक्षकमा पारस चौधरी र गोलरक्षकको प्रशिक्षकमा करण कार्कीले अभ्यस्त बनाउँदै छन्। टोलीका मुख्य प्रशिक्षक पारस चौधरीका अनुसार टोलीको तयारी आफूले सोचेअनुसार भइरहेको छ। प्रतियोगिताका लागि अभ्यास गर्न महानगरपालिकाले राम्रो समय दिँदा नतिजा पनि अपेक्षाकृत आउनेमा टोली विश्वस्त देखिएको छ।

प्रशिक्षक चौधरीका अनुसार टोलीमा मध्यपंक्तिमा र अग्रपंक्तिमा समान ७ जना, रक्षात्मकतर्फ ८ र गोलरक्षकको भूमिकामा ३ जनासहित टोली सन्तुलित रहनेछ। टोली महानगरबाट कविता खड्का र अपेक्षा गिरीसहित मोरङका अन्य क्षेत्रबाट ८, धनगढीबाट ४, सर्लाहीबाट ३, धनकुटा, सुनसरी, उदयपुरबाट समान १ र भारतबाट ४ जना खेलाडी टोलीमा अटाएका छन्। टोलीमा रहेका विद्या राना र दिपिसा लामा भने भारतमा हुने १८ वर्षमुनिको साफ च्याम्पियन्सिप खेल्ने तयारीमा छन्।

टोलीले प्रतियोगितामा पहिलो खेल विभागीय टोली नेपाल पुलिससँग चैत ११ गते खेल्नेछ। यसअघि पुलिसको टोलीलाई पराजित गरेको विराटनगर मैदानमा दबाब बनाउन सफल हुने प्रशिक्षक तथा खेलाडीको भनाइ छ। प्रतियोगिताका लागि टोलीको सम्पूर्ण तयारी खर्च महानगरपालिकाले व्यहोरेको छ। होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको पहिलो चरणको खेल चितवन र दोस्रो चरणको खेल विराटनगरमा हुनेछ।

प्रतियोगितामा महानगरसहित तीन विभागीय टोली, स्याङ्जाको वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो हुने टोलीले १० लाख, तेस्रो स्थानमा रहने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ

प्रतिक्रिया दिनुहोस्