प्रकाश सपुतले मागे माफी, भने- ‘मैले माओवादी युद्धको उपहास गरेको छैन।’



काठमाडौं,फागुन ३० । चर्चित कलाकार प्रकाश सपुतले माफी मागेका छन् । उनले सामाजिक सञ्चाल मार्फत माफी मागेका हुन। उनले लेखेका छन् – ‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै–धेरै धन्यबाद !  सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ । सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत ’पिर’का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छ । 

गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ । एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ । मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ?  तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु । 

’पिर’बाट मैले युद्धकै जग÷बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको  हौं । समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौं । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हौं ! मलाई लागेको – यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिदै÷पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?

जसरी यसअघिका  गीतहरु ‘बोल माया’,  ‘दोहोरी ब्याटल’,‘गल्बन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ , ‘मेरो पनि हैन र यो देश’ , ‘कुरा बुझ्न पर्छ’ गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड÷छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ । गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु । ६ वर्ष अगाडि करिब  ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने÷बजाउने÷ पकाउने÷ पस्कने मध्यका थुप्रै सहकर्मीहरु पुर्व लडाकु थिए । उनीहरु चरम निराशाबादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु । प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’ । यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें । केहि पात्रहरु पढें । आम मानिसका भोगाई र संवेदनाहरु बुने  र  भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो ।

एउटै  गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन। पूरै बुझाइ आउँदैन । त्यसैले  अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म  फेरि आत्मालोचना गर्छु ।  यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु।   माफि मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना ÷ मदन छन् कि छैनन् ?  सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगबिर र सकम्बरी कहाँ होलान ?  कहाँ होला घु्म्ने मेच माथि बसेको  अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अÞक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ ।

भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा  मैले  यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युध्द -आन्दोलन- गणतन्त्र÷स्वतन्त्रताको अपमान हुने हो कि ?  म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ  । म सर्जक हुँ,   सिर्जना  नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होईन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं  तर यसलाई राजनीतिकरण नगर्न सबैसँग  अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु !  मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष ÷विपक्षमा एकोहोरो भइन्छ !  नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको  भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ !  त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ,  त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु ! यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ ! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन ! गाउनुपर्ने कयौं, गित छन् ! तपाईंले नै  लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन् । प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस् ।


प्रकाश सपुत, सर्जक
२०७८ फागुन ३०

प्रतिक्रिया दिनुहोस्