त्रिदेशीय टी–२० सिरिजमा नेपाल बन्यो च्याम्पियन



काठमाडौं,चैत २१ । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालका लागि सन्दीप लामिछानेको कप्तानीमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो । यससँगै नेपालले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिजमा खेपेको हारको बदला समेत लिएको छ ।

यसअघि भएको दुई खेलको एकदिवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । जितका लागि एकसय ६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेटको क्षतिमा ११८ रनमा समेटियो । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाउनुभयो । चाल्स अमिनीले १५ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्