नुवाकोटको दुप्चेश्वरमा भूकम्पले हल्लाएको ठूलो ढुंगा सेनाले फुटाएर जोगायो वस्ती
नुवाकोट,वैशाख १७ । २०७२ सालको भूकम्पले हल्लाएको विशाल ढुंगो बस्तीमा झर्नबाट नेपाली सेनाले जोगाएको छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ नेगीको बस्तीमाथि रहेको ठूलो ढुंगा नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ मार्फत फुटाएर बस्तीलाई जोगाएको हो ।
झण्डै २०,००० घन मिटरको सो ठूलो ढुङ्गा, जिल्लास्थित विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा श्री कालीभञ्जन गण (ई) बाट खटिएको दक्ष जनशक्तिले फुटाएको हो । गत फाल्गुण १४ गतेबाट ब्लाष्टिङ्ग कार्य शुरु गरी यहीँ २०७९ साल बैशाख १५ गते उक्त ढुङ्गा व्यवस्थापन कार्य सम्पन्न गरेको कालीभञ्जन गणले जनाएको छ ।
ढुंगा फुटाएपछि बस्ती सुरक्षित भए नभएको समेत अवलोकन गरिएको छ । अवलोकनका लागि नेपाली सेना मध्य कमान्ड हेडक्वार्टरका कमान्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, श्री नंम्बर ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रवीन्द्र के.सी, गाउँपालिकाका पूर्व अध्यक्ष योविन्द्रसिंह तामाङ, पूर्व उपाध्यक्ष अञ्जु आचार्य लगायतका पदाधिकारी,स्थानीय बासिन्दाबीच छलफल समेत भएको बताइएको छ ।