नेपालको अर्थतन्त्रमा जोखिम कायमै छ, सरकार संयमित भएर चल्नुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा



लकाठमाडौं,वैशाख २१ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा जोखिम कायमै रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खतिवडाले उक्त कुरा बताएका हुन् ।

युथ चेम्बरले आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान’ विषयक कार्यक्रममा सहभागीहरूले निर्यात प्रवर्द्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।  निर्यात प्रर्वद्धनका लागि सरकारले दीर्घकालिन नीति बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । 

पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण पनि नीतिगत अस्थिरता भएको बताए । 

आयात निरुत्साहन तथा निर्यात प्रर्वद्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र वैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने उनले बताए । उनले भने, ‘अर्थतन्त्रमा संरचनागत समस्या छ । कृषि सडक देखि जलविद्युत सवै क्षेत्रमा आयात गर्नु परेको छ । व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।’

आयात घटाउँदै जाने र निर्यात प्रर्वद्धन गर्ने गरी अल्पकालिन र दीर्घकालिन नीति बनाएर अघि बढ्न खतिवडाले सुझाव दिए । 

मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको भन्दै उनले सरकार संयम हुनुपर्ने बेला आएको बताए । उपभोग्य बस्तुहरुको अभावसंगै मूल्यवृद्धि हुने हल्लामा बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको खतिवडाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्