राष्ट्रपतिबाट जेठ ३ गते संघीय संसदको अधिवेशन आह्वान
काठमाडौं,वैशाख २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मंगलवारका लागि सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार अपराह्न ४ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले आगामी जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आइतवार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रत्येक वर्षको जेठ १४ गते नयाँ बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि संसदमा बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।
यसैवीच आइतवार राष्ट्रपतिले दुई ओटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले औषधि सम्बन्धी तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।