चुनावको दिन पानी पर्न सक्छ, सतर्कता अपनाऔं : जलवायुविद्
काठमाडौं,वैशाख २६ । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।
बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापिय अवस्था आइतवारको दिन समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पुर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।
पछिल्लो विकसित प्रणालीबारे कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिइएको यस आँधि निकै तिब्र गतिमा चलेको बताए । सो आँधिको असर भारतको उडिसा लगायत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन बर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा बर्षा गराउने उनले बताए ।
उनले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई ध्यानमा राख्दै मतपत्र, मतपेटिकालगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन् ।