आँपको मूल्य ६८ प्रतिशतसम्म बढ्यो



काठमाडौं,वैशाख २८ । फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ । अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८ प्रतिशतसम्म मूल्य बढेको पाइएको हो । अहिले नेपाली आँप बजारमा आइसकेको छैन । भारतीय आँपका लागि उतै महँगो तिर्नु परेकाले बजार मूल्य बढेको व्यवसायीको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य–सूचीमा उल्लेख भएअनुसार अघिल्लो वर्ष वैशाख २६ गते प्रतिकिलो १ सय २५ रुपैयाँ रहेको कलकत्ते आँपको थोकमूल्य यस वर्ष वैशाख २६ गते २ सय १० रुपैयाँ थियो । यो अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशत बढी हो ।

खुद्रा बजारमा यो आँपको मूल्य प्रतिकिलो २ सय ५० देखि ३ सय रुपैयासम्म पर्ने गर्छ ।

दशहरी आँपको मूल्य पोहोरको तुलनामा ६२ प्रतिशतले बढेको छ । पोहोर प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेकामा यसपालि २ सय ३५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा यसको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म पुग्छ । मालदह आँपको मूल्य ३३ प्रतिशतले बढेको पाइएको छ । यसको थोक मूल्य ७५ रुपैयाँ किलोबाट बढेर सय रुपैयाँसम्म पुगेको छ । खुद्रा बजारमा उपभोक्ताले यसका लागि प्रतिकिलो १ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ ।

अहिले नेपाली आँप बजारमा आउने बेला भइसकेको छैन । त्यसैले भारतीय आँपको बजार शुरू भएको छ । यो वर्ष भारतीय आँपको मूल्य उतैबाट बढेर आएकाले त्यसको असर नेपाली बजारमा परेको समितिका अध्यक्ष गीताप्रसाद आचार्य बताउँछन् । उनका अनुसार जेठ दोस्रो सातादेखि नेपाली आँप बजारमा आउँछ त्यसपछि मूल्यमा केही कमी आउन सक्छ । चर्को मूल्यका कारण आँपको माग र आयात दुवै घटेको व्यवसायी बताउँछन् । कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँका अनुसार गतवर्ष यो समयमा भारतबाट हरेक दिन १० देखि १२ गाडीसम्म आँप आयात हुन्थ्यो । यो वर्ष दैनिक ६/७ गाडीमात्रै आयात भइरहेको छ । आफूहरूले भारतबाट ल्याउँदा नै सयदेखि १ सय ५० रूपैयाँ भारूसम्म पर्ने गरेको व्यवसायी बताउँछन् ।

यस वर्ष नेपाली आँपको उत्पादन बढ्ने अनुमान गरिएको छ । आँप उत्पादन १ वर्ष घट्ने र अर्को वर्ष बढ्ने गर्छ । यस वर्ष उत्पादन बढ्ने समय हो । त्यसैले गतवर्षको तुलनामा यस वर्ष तराईका जिल्लामा आँप उत्पादन करीब दोब्बर हुने अनुमान गरिएको सिराहा तथा सप्तरी आँप जोनका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्