मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउँदै



काठमाडौं,वैशाख ३१। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमवार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्नेछन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि उनबाट हुन लागेको यो पाँचौँ भ्रमण हो ।

बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । लुम्बिनीमा रहँदा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्