हेटौँडामा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
हेटौँडा,कात्तिक २ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौँडा–भैँसे सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
आइतबार अपराह्न करिब ४ः५० बजे हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१० बुद्धचोकका ४२ वर्षीय विनोद लामाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएकोमा चिकित्सकले अपराह्न ५ः१० बजे मृत घोषणा गरेका थिए।
मृतक लामाको पहिचान उनकी श्रीमती सरस्वती रुम्बाले गरेकी हुन्। दुर्घटनामा संलग्न दुवै सवारीसाधन र पिकअप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।

