नुवाकोटको बट्टारमा ईभी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु



नुवाकोट,कात्तिक २ । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारस्थित भित्री सडकखण्डमा विद्युतीय गाडी (ईभी) र स्कुटर आपसमा ठोक्किँदा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा विदुर नगरपालिका–४ बट्टार निवासी ४४ वर्षीय नमराज दाहाल रहेका छन्। युनाइटेड आधारभूत विद्यालय नजिक भएको दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

प्राप्त विवरणअनुसार हावाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ९११२ नम्बरको ईभी गाडी र संगमचोकबाट हावाघरतर्फ आउँदै गरेको बा.३८ प. ३२४३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनापछि दाहाललाई तत्काल उपचारका लागि चक्रदेव अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौं रिफर गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।

ईभी गाडी विदुर नगरपालिका–१ निवासी २३ वर्षीय देव तामाङले चलाएको बताइएको छ। दुर्घटनाको कारण र घटनाबारे थप विवरण खुल्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्