एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ



काठमाडौं,जेठ ४ । काठमाडौं असनका सुनिल शर्मा सोमवार बिहानै तरकारी किन्न असन बजारमा जाँदा गोलभेँडाको मूल्य सुनेर चकित भए । ‘बल्लबल्ल एउटा पसलमा प्रतिकिलो १४० रुपैयाँमा भेट्टाएँ । महँगो भए पनि किन्नै पर्‍यो,’ उनले भने ।

गोलभेँडाको मूल्य अत्यधिक बढेपछि अहिले अधिकांश पसलमा नपाइएको उपभोक्ताको गुनासो छ । बजारमा गोलभेँडाको सबैभन्दा धेरै बढेको छ । एक महीनाअघि कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँ थियो । तर अहिले यो मूल्य बढेर ८० देखि ९५ रुपैयाँ पुगेको छ । एक महीना अवधिमै गोलभेँडाको मूल्य किलोमा करीब चार गुणाले बढेको हो । होलसेलमै यति पर्ने गोलभेँडाको भाउ खुद्रामा अझै बढी पर्दा उपभोक्ता मारमा परेका छन् ।

नेपालीको भान्सामा नभई नहुने तरकारीमध्येको एक हो गोलभेँडा । त्यसैले यसको मूल्य बढ्दा आम उपभोक्ता मर्कामा पर्ने गरेका छन् । सामान्य अवस्थामा काठमाडौं आउने अधिकांश गोलभेँडा अहिले स्थानीय तहको चुनावको माहोलका कारण गाउँघरतिरै खपत भइरहेको छ । यसले आपूर्तिमा समेत चाप परेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भारतबाट गोलभेँडा नआएकाले मूल्य आकाशिएको बताए । स्थानीय चुनावको कारण केही दिन सीमानाका बन्द हुँदा आपूर्ति घटेकाले पनि मूल्य बढेको उनको भनाइ छ ।

चालू आर्थिक वर्षको ९ महीना अवधिमा कालीमाटी तरकारी बजारमा २६ हजार ८०२ टन सानो खालको गोलभेँडा भित्रिएको श्रेष्ठले जानकारी दिए, जसमध्ये ४ हजार ६६ टन भारतबाट आयात गरिएको र बाँकी स्वदेशमै उत्पादन भएको उनले बताए । काठमाडौंमा अहिले धादिङ, मकवानपुर, काभ्रे र चितवनबाट ठूलो परिमाणमा गोलभेँडा आउने गरेको छ । उनका अनुसार अहिले नेपाली गोलभेँडाभन्दा पनि भारतीय गोलभेँडा आउने समय हो ।

स्वदेशमै उत्पादन भएको गोलभेँडाले बजारको माग नधान्ने हुँदा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । बाहिरबाट आयात गर्दा विभिन्न कारणले मूल्यमा तलमाथि हुने गरेको छ । भारतबाट आउन थालेपछि गोलभेँडाको फेरि मूल्य घट्ने श्रेष्ठले बताए ।

भारतबाट सानो गोलभेँडाको तुलनामा ठूला गोलभेँडा बढी भित्रिने गरेको छ । भोजभतेर लगायत प्रयोजनमा सलादका रूपमा उपभोग गरिने भएकाले पनि यो समयमा गोलभेँडाको माग बढी हुन्छ । ९ महीनामा भारतबाट ५ हजार ४०० टन ठूलो गोलभेँडा कालीमाटी बजारमा भित्रिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्