‘मलाई कहिल्यै नखोज्नु’ भनेर हिडेका नुवाकोट पञ्चकन्या गाउँपालिकाका मुरारी बेपत्ता



नुवाकोट, जेठ ५ । ‘मलाई कहिल्यै नखोज्नु’ भनेर हिडेका नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका मुरारी लुइँटेल बेपत्ता भएका छन् ।

बुधबार बिहानै घरबाट निस्केका मुरारी बिहीबार साँझसम्म कतै फेला नपरेकाले खोजी गरिदिन बेपत्ता मुरारीका बुबा कृष्णप्रसाद लुइँटेलले आग्रह गरेका छन् । बुबा कृष्णप्रसादका अनुसार बिहानै घरबाट निस्केको र ठाउँ ठाउँमा रोक्न स्थानीय लाई अनुरोध गर्दा समेत समाउन नसकिएको थियोे । स्थानीय सत्तरी भन्ने ठाउँमा समाउन खोज्दा भागेको समेत बताइएको छ। त्यहाँका राम उप्रेतीले छहरे बजारमा रोक्न खोज्दा समेत ऊनी दौडिएर भागेका थिए । मोटरसाइकलमा खोजी पस्दा समेत नभेटिएको उप्रेतीले बताए ।

मानसिक समस्याका केहि लक्षण समेत देखिएको मुरारी झण्डै डेढ वर्ष अगाडि काठमाडौंबाट पनि बेपत्ता भएको उनको पारिवारजनले बताएका छन् । त्यसबखत उनलाई देवीघाट खोलामा हेलिएको अवस्थामा फेला पारेको बताइएको छ ।

अन्य दाजुभाइ काठमाडौं रहेको र आमाको मृत्यु पश्चात् मुरारी र उनका बुबा कृष्णप्रसाद लुइँटेल मात्रै घरमा बस्दै आएका थिए । बुबा कृष्ण प्रसादका अनुसार आमाको मृत्यु पश्चात् थोरै मानसिक विचलन मुरारीमा देखिएको थियोे । दस जोड दुई कक्षा अध्ययन गरेका मुरारी केही समय घाँस दाउरा गर्ने, गोठालो जाने, खेत खन्ने लगायत काम गर्दै आएका थिए । यद्यपि पछिल्लो समय खाना खाने र सुत्ने मात्रै गर्दै आएका मुरारीलाई खोजी गरिदिन उनका बुबा कृष्णप्रसाद लुइँटेलले अनुरोध गरेका छन् ।

यस विषयमा छहरे अस्थायी प्रहरी पोस्टमा समेत खोजी गरिदिन बुबा कृष्णप्रसादले निवेदन दिएका छन् । निवेदन अनुसार मुरारीले कालो क्याप टोपी, निलो हाफ टिसर्ट, जुत्ता लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्