एकै परिवारको ३५ वर्षसम्म वर्चस्व



ओखलढुंगा, जेठ ६ । बाबु २० वर्षसम्म लगातार प्रधानपञ्च, त्यसपछि आमा पाँच वर्ष प्रधानपञ्च । र, स्थानीय तहअन्तर्गतको गाउँपालिकामा लगातार छोरा दुईपटक अध्यक्षमा विजयी ।

यस्तो संयोग बिरलैलाई मिल्छ । हो, ओखलढुंगाको चप्पादेवी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज केसी विजयी भएपछि उनको परिवारले ३५ वर्षसम्म गाउँपञ्चायत-गाउँपालिका प्रमुख भएर हाँक्ने देखिएको छ ।

एकै परिवारका बुबा, आमा तथा छोराले निरन्तर साढे तीन दशक अपार जनमतकासाथ निर्वाचित हुने दुर्लभ संयोगले सो परिवारप्रति स्थानीय जनताको आस्था र भरोसा देखिएको तथा सो परिवार स्थानीयबीच लोकप्रिय रहेको स्थानीय मतदाताको भनाइ छ ।

केसी ४ हजार ७ सय ८३ मत पाएर दोस्रोपटकका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट विजयी उनी स्थानीय मतदाताबीच विकासप्रेमी नेताका रूपमा चिनिन्छन् । दोस्रोपटकका लागि निर्वाचित भएपछि उनले स्थानीय जनताको अपेक्षालाई पूरा गर्न आफूले सधैं प्रयास गरिरहने बताएका छन् ।

स्थानीय जनताले अपेक्षा गरेअनुरूप गाउँको विकासमा पूर्णरूपमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै केसीले विकासको चाहनालाई पूरा गर्न आफू सदैव तल्लीन रहिरहने बताए ।

सो ठाउँमा केसीका बाबु रणबहादुर खत्री २० वर्षसम्म प्रधानपञ्च भएका थिए । बाबुपछि आमा गायत्रीदेवी पाँच वर्ष प्रधानपञ्च भएकी थिइन् । बुबा तथा आमा पटकपटक गरी साढे दुई दशकसम्म निरन्तर प्रधानपञ्च भएको ठाउँमा उनले अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्षमा उम्मेद्वारी दिएका थिए । उनको उम्मेदवारीलाई जनताले अनुमोदन गरेपछि हौसिएका केसी दोस्रोपटक पनि उम्मेदवार बने । अन्ततः त्यसमा पनि उनी सफल भए ।

स्थानीय जनताबीच नवनिर्वाचित केसी मेहनती तथा स्पष्ट वक्ता एवं अडान भएका युवा नेताका रूपमा चिनिन्छन् ।

यो समाचार आजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्