चालू आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने



काठमाडौं,असार ४ । चालू आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड संक्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आवमा एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो । गत महीनासम्ममा झण्डै ६०० किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताए । 

८०० किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकोमा हालसम्म २९५ किमी सम्पन्न भएको छ । अहिले पनि ‘कन्सट्रक्सन होलिडे’का कारण निर्माण सुस्त छ । उनले भने, ‘यो महीनाको अन्तिमसम्ममा एक डेढ सयसम्म बढ्न सक्छ ।’

गत महीनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झण्डै ३९ प्रतिशत मात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ । 

काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ । अर्थमन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले  बताए ।

चालू आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्षमा शुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो । चालू आवमा गत वर्ष जति प्रगति नहुने उनको भनाइ थियो ।

चालू आवमा पूरक बजेट तीन महीना ढिला भएकाले यकिन विनियोजन ढिला मात्रै थाहा भएको महानिर्देशक थापाले बताए । पछिल्लो दुई वर्षदेखि कोभिड संक्रमणका कारण निर्माणमा असर पुगिरहेको छ । चालू आवमा पनि संक्रमणका कारण निर्माणमा अवरोध पुगेको भएको मन्त्रालयले जानकारी दिएको छ । 

अहिले युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ, रड, छडलगायतको निर्माण सामग्रीको भाउ निकै बढेको छ । युद्धअघि ती सामग्रीको भाउ अहिले दोब्बर भएपछि निर्माण व्यवसायीले ‘कन्सट्रक्सन होलिडे’ गरिरहेका छन् । महानिर्देशक थापाले भने, ‘व्यवसायीले अलकत्राको काम नगरेको, छडको काम कम गरेको र इन्धन लाग्ने काम कम गरेका छन् ।’

सरकारले केही वर्ष यता बर्सेनि ३०० पुल निर्माणको लक्ष्य लिँदै आएको छ । गत महीनासम्ममा १०१ पुल निर्माण गरिएको थियो । अरु पुल पनि सम्पन्न भइरहेको महानिर्देशक थापाले बताए । कतिपय पुलको मुख्य संरचना निर्माण सकिएर रेलिङ, रङ, पहुँच सडक बन्न बाँकी छ । उनले भने, ‘यो महीनामा गत वर्षभन्दा कम हुँदैन भन्ने विश्वास छ ।’

अहिले निर्माणाधीन सडक र पुल समयमा नसकिएमा असारपछि अवधि थप गर्नुपर्ने हुनसक्ने सडक विभागले जानकारी दिएको छ । ठेक्काको अवधि थप्नका लागि कारण चाहिने महानिर्देशक थापाले बताए । योजना समयमा नसकिनु नै प्रमुख कारण भएकाले त्यो अर्को वर्षका लागि धकेलिन सक्ने उनको भनाइ थियो ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्