चलचित्र निर्मातालाई प्रोजेक्ट कर्जा दिने सुविधा आवश्यक : अध्यक्ष गोल्छा



काठमाडौं,असार १५ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा सुविधा दिन आवश्यक रहेको बताएका छन् ।

मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार,कानून र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

उनले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिएर सिनेमा निर्माण गर्दा निर्माताहरुको निकै ठूलो क्षति भोग्नु परेको बताए । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता, साना र मझौला उद्योगहरुको लागि समेत माग गरेको बताए । 

उनले कोरोना महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत् महशुल पूर्णरुपमा छूट तथा पुनरकर्जा उपलब्ध गर्ने काजगजातमा सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे ।

अध्यक्ष गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तरराष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने बताए।

अध्यक्ष गोल्छाले  सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने बताए। उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित पार्ने र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्