कतारसँग पुनर्निर्माणमा थप सहयोग गर्न सभामुख अर्यालको आग्रह
काठमाडौं,मंसिर ८ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले शिष्टाचार भेट गर्नुभएको छ।
सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा सहकार्यका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटका क्रममा सभामुख अर्यालले भोटेकोशी बाढीपछि कतार सरकारले उपलब्ध गराएको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद व्यक्त गर्दै नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा थप सहयोगको अपेक्षा गर्नुभयो।
उहाँले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र कतारबीच मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्य सुदृढ हुँदै आएको उल्लेख गर्नुभयो। साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै सभामुख अर्यालले नेपाली श्रमिकको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्य गर्न आग्रह गर्नुभयो। उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार र सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्र्याउन पनि आग्रह गर्नुभयो।
त्यसैगरी, नेपालमा उत्पादित फलफूल, तरकारी तथा अन्नलगायत कृषि उपज कतारमा निर्यात गर्ने वातावरण बनाउन समन्वय गर्नुपर्ने उहाँको भनाइ थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्द्धन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
सभामुख अर्यालले खेलकुदको विकास र प्रवर्द्धनका लागि समेत दुई देशबीच सहकार्य विस्तार गर्न आग्रह गर्नुभयो।
भेटमा राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताउनुभएको सचिवालयले जनाएको छ।

