रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारको पहल
काठमाडौं,मंसिर ८ । रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रमिकका गुनासा सम्बोधन तथा उनीहरूको हकहित संरक्षणका लागि प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरेर त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या पहिचान र समाधान गर्ने काम गरिरहेको जनाएको छ ।
यस्तै, वैदेशिक रोजगार विभागले समस्यामा परेका श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको अवस्था र गुनासो संकलन गरिरहेको छ । ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा विभागले आवश्यक पहल अघि बढाएको हो ।
श्रमिकका गुनासा र प्रारम्भिक तथ्यका आधारमा विभागले रोमानियामा नेपाली कामदार पठाउने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी तथा वैदेशिक रोजगार व्यवसायी संस्थाको भर्ना प्रक्रिया र गतिविधिमाथि अनुगमन तथा छानबिन सुरु गरेको छ ।
छानबिनका क्रममा सम्बन्धित संस्थाको भूमिका, श्रमिक छनोट तथा भर्ना प्रक्रिया र सेवा शुल्कलगायतका विषयमा अध्ययन भइरहेको विभागले जनाएको छ ।
गैरकानुनी रूपमा सेवा शुल्क असुली, भ्रामक सूचना प्रवाह, श्रमिकमाथि अनुचित दबाब तथा रोजगारीका सर्तमा अनियमितता भएको पुष्टि भए सम्बन्धित संस्था र व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।
रोमानियामा नेपाली श्रमिकको सङ्ख्या बढ्दै गएको अवस्थामा देखिएका समस्या समाधान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन वैदेशिक रोजगार प्रक्रियाको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने सरकारको तयारी छ । साथै, सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाइने मन्त्रालयले जनाएको छ ।

