राष्ट्रिय पौडीमा विकास र लिलीको नयाँ कीर्तिमान, पहिलो दिन बागमतीको अग्रता
नेपालगन्ज,मंसिर ८ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटनअघि नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
पुरुषतर्फ कोशी प्रदेशका विकास कुमाल र महिलातर्फ गैरआवासीय नेपाली (एनआरएन) की लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
नेपालगन्ज रङ्गशालामा भएको पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा विकासले ३०.६४ सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन् । यसअघि उनले सन् २०२६ मा भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए ।
त्यस्तै, महिला ४०० मिटर व्यक्तिगत मिडलेमा लिलीले पाँच मिनेट १७.०१ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । यसअघि सन् २०१६ मा भारतको गुहाटीमा भएको ११औँ दक्षिण एसियाली खेलकुदमा सोफिया शाहले पाँच मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
सोफियाको कीर्तिमान दशौँ राष्ट्रिय खेलकुदको छनोट चरणमै लिली र नेपाली सेनाकी डुआना लामाले तोडेका थिए । लिलीले पाँच मिनेट २१.५२ सेकेन्ड र डुआनाले पाँच मिनेट २५.१७ सेकेन्डमा दूरी पूरा गरेका थिए । अन्तिम चरणमा लिलीले आफ्नो समय थप सुधार गर्दै नयाँ कीर्तिमान कायम गरिन् ।
प्रतियोगिताको पहिलो दिन पदक तालिकामा बागमती प्रदेशले चार स्वर्ण, दुई रजत र तीन कास्यसहित अग्रता लिएको छ । एनआरएन टोली तीन स्वर्ण र एक रजतसहित दोस्रो तथा नेपाली सेना दुई स्वर्ण, चार रजत र एक कास्यसहित तेस्रो स्थानमा छन् ।
नेपाल प्रहरीले एक स्वर्ण, दुई रजत र छ कास्यसहित चौथो, कोशी प्रदेश एक स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश दुई रजतसहित छैटौँ स्थानमा रहेका छन् ।
पहिलो दिन पुरुष १५०० मिटर फ्रिस्टाइलमा नेपाल प्रहरीका मयोन श्रेष्ठले १७ मिनेट ४८.६१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । सुदूरपश्चिमका अर्थव सिंहले रजत र नेपाल प्रहरीका रचित बुढाथोकीले कास्य पदक प्राप्त गरे ।
महिला ४०० मिटर व्यक्तिगत मिडलेमा लिलीले स्वर्ण, डुआना लामाले रजत र नेपाल प्रहरीकी देभान्सी जोशीले कास्य जितिन् ।
पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमालले स्वर्ण, सेनाका जाडेन श्रेष्ठले रजत र नेपाल प्रहरीका इर्भिन श्रेष्ठले कास्य जिते । महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा डुआनाले स्वर्ण जित्दा बागमतीका रोयल प्रजापति र प्रज्ना ताम्राकारले क्रमशः रजत र कास्य पदक प्राप्त गरे ।
पुरुष १०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिव प्रधानले स्वर्ण, नेपाल प्रहरीका इर्भिनले रजत र सेनाका अल्भीन महर्जनले कास्य जिते । महिला १०० मिटर फ्रिस्टाइलमा एनआरएनकी मिखा काया थापाले स्वर्ण, डुआनाले रजत र लिलीले कास्य पदक जितिन् ।
पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा अभिव प्रधानले स्वर्ण, सुदूरपश्चिमका अर्थव सिंहले रजत र बागमतीका रिभान्तबहादुर श्रेष्ठले कास्य जिते । महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा मिखाले स्वर्ण, नेपाल प्रहरीकी देभान्सीले रजत र बागमतीकी आर्या महर्जनले कास्य पदक प्राप्त गरिन् ।
रिले स्पर्धातर्फ पुरुष चार गुणा १०० मिटर मिडले रिलेमा सेनाले स्वर्ण, बागमतीले रजत र प्रहरीले कास्य जित्यो । महिला चार गुणा ५० मिटर फ्रिस्टाइल रिले तथा मिश्रित चार गुणा ५० मिटर फ्रिस्टाइल रिले दुवैमा बागमतीले स्वर्ण जित्न सफल भयो । दुवै स्पर्धामा सेनाले रजत र प्रहरीले कास्य पदक प्राप्त गरे ।
नेपालगन्ज रङ्गशालामा चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गर्नुभएको थियो ।

