चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही : शिक्षामन्त्री



काठमाडौँ,असार २१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरूबारे जानकारी भए अवगत गराउन सांसदहरूलाई आग्रह पनि गरे ।

मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने स्पष्ट गरे । उनले विश्वविद्यालयमा तालाबन्दी र हडताल गर्ने कार्य गलत भएको र कुनै समस्या भएमा आपसी संवादबाट समाधान गर्नुपर्ने सांसद्हरूको भनाइमा सहमति जनाउँदै विश्वविद्यालयको पढाइ र शैक्षिक क्यालेन्डरलाई प्रभावित पार्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्