भदौ १ गतेदेखि प्लाष्टिक झोला आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध



काठमाडौं,साउन १० । प्लाष्टिक झोला आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ । अब भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गरे दण्डित गरिने वातावरण विभागले जनाएको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै यसभन्दा अघि नै लगाइएको प्रतिबन्धले केही असर नगरेको पाइएकाले आगामी भदौ १ गतेदेखि भने कडा रूपमा प्लाष्टिक झोलाको प्रयोग गर्न तथा उत्पादन र आयात गर्न नदिइने जनाएको हो ।

अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार अर्थात करिब १ लाख सम्म जरिवाना र उत्पादन तथा आयात गर्ने कम्पनीलाई ५ वर्षसम्म कालोसूचीमा राख्ने व्यवस्था छ ।

यसका साथै, अदालती कारवाही र जेल सजायसम्म हुने पनि भनिएको छ । नेपाल सरकारबाट २०७८ असोज १९ गते राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । सो नियमलाई निरन्तरता दिन नसक्दा पुनः भदौ १ गतेबाट सोहि प्रक्रिया अघि सारिएको विभाग बताउँछ ।

यो २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्‍को निर्णयबाट पारित भएको उक्त प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध सम्बन्धि कार्ययोजना स्वीकृत भइ कार्यान्वयनमा रहेको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्