पाल्पाका तीन परिवारलाई तिहारको उपहार, भूकम्प प्रतिरोधी सुरक्षित घर
पाल्पा,कात्तिक १८ । श्रीमान् गुमाएको पीडा, भूकम्पले चर्किएको घर र वर्षायाममा ओत लाग्ने चिन्ता । रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन निकै कष्टकर थिए । तर यसपटकको तिहार उनका लागि नयाँ खुसी र आशा बोकेर आएको छ । भूकम्प प्रतिरोधी सुरक्षित घर पाएपछि उनले दुःखका दिन सकिएको अनुभूति गरेकी छन् ।
“हाम्रा दुःखका दिन सकिएको जस्तो लागेको छ,” सुरक्षित घर पाएपछि खुसी व्यक्त गर्दै रानाले भनिन् । अब चर्किएको घरमा डरैडरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ ।
रानासँगै रामपुर नगरपालिका–२ खयरबोटकी बन्दना विश्वकर्मा र वडा नं ६ माझटोलकी गनमाया घर्तीले पनि तिहारको उपहारस्वरूप सुरक्षित आवास पाएका छन् । रामपुर नगरपालिका, गैरसरकारी संस्था निवासको सहयोग तथा टुकी फाउन्डेसनको आर्थिक साझेदारीमा निर्माण गरिएका दुईकोठे भूकम्प प्रतिरोधी घर र शौचालय तीन परिवारलाई हस्तान्तरण गरिएको हो ।
“चर्किएको पुरानो घरमा डरैडरमा दिन काट्नु परेको थियो । अहिले चिटिक्क परेको आफ्नै सुरक्षित घर पाउँदा खुसीको सीमा नै छैन,” घरको साँचो बुझ्दै घर्तीले भनिन् ।
तीन परिवारलाई घर हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले आवाससँगै परिवारलाई आत्मनिर्भर बनाउने कार्यक्रम अघि बढाइने बताए । बालबालिकाको शिक्षा र परिवारको आयआर्जनमा नगरपालिकाले सहयोग गर्ने उनको भनाइ छ ।
टुकी फाउन्डेसनका कार्यकारी निर्देशक शिला सेनका अनुसार एउटा घर निर्माणमा आठ लाख १४ हजार ६८० रुपैयाँ खर्च भएको छ । नगरपालिकाले प्रतिघर दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ भने बाँकी रकम फाउन्डेसनले व्यहोरेको हो ।
घर हस्तान्तरणसँगै तीनै परिवारलाई आफूले रोजेको व्यवसाय सञ्चालन गर्न प्रतिपरिवार ३० हजार रुपैयाँ सहयोग गर्ने योजना रहेको छ ।
वर्षौँदेखि असुरक्षित आवास र वर्षायाममा ओतको चिन्ता बोकेका तीन परिवारका लागि यसपटकको तिहार केवल दीपावलीको पर्व मात्र बनेको छैन । सुरक्षित घरमा परिवारसँगै बस्न पाउने अवसरले उनीहरूको जीवनमा नयाँ आशा, खुसी र आत्मविश्वास थपिएको छ ।

