सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं : हर्क साम्पाङ



झापा,कात्तिक १८ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी तथा गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गर्नुभएको छ ।

झापाको मेचीनगर–६ काँकडभिट्टामा मंगलबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राईले पार्टीका कार्यकर्ताले मुलुकका विभिन्न भागमा श्रमदानमार्फत गरिब जनताको सेवा गरिरहेको बताउनुभयो । उहाँले श्रमदानबाटै पार्टीको राजनीतिक उद्देश्य पुष्टि भइरहेको धारणा राख्नुभयो ।

सुकुम्बासी समस्या समाधानमा वर्तमान सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै अध्यक्ष राईले सत्तामा पुगेपछि सुकुम्बासीलाई जग्गा र बसोबासको उचित व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

‘सरकारमा नभएका कारणले हामीले अहिले आवाज मात्र उठाउन सकेका छौं । सत्तामा पुगेका दिन हामी सुकुम्बासीलाई जग्गा र बसोबासको उचित व्यवस्था मिलाउँछौं,’ उहाँले भन्नुभयो ।

यसैगरी, अध्यक्ष राईले झापाका बासिन्दाले लामो समयदेखि जंगली हात्तीको आतंक झेल्नुपरेको विषय उठाउँदै स्थानीय नागरिकको जीउधनको सुरक्षा गर्न सरकारसँग माग गर्नुभयो ।

काँकडभिट्टाको जनसभापछि श्रम संस्कृति पार्टीले झापाकै अर्जुनधारामा आयोजना गरेको अर्को कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष राईले श्रमको सम्मान र उत्पादनमूलक कामबाट मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्