नुवाकोट शिवपुरीको नेटवर्क समस्या समाधान गर्न स्थलगत निरीक्षण, नेपानेमा नयाँ टावर थपिने



नुवाकोट, कात्तिक १८ । नुवाकोटको शिवपुरी गाउँपालिकामा लामो समयदेखि देखिँदै आएको मोबाइल नेटवर्कको समस्या समाधान गर्न सञ्चार मन्त्रालय र नेपाल टेलिकमको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा शिवपुरी गाउँपालिका–५ स्थित नेपानेमा नयाँ मोबाइल टावर निर्माणका लागि उपयुक्त स्थानसमेत पहिचान गरिएको छ।

शिवपुरीसहित जिल्लाका विभिन्न स्थानीय तहमा कमजोर मोबाइल नेटवर्कका कारण टेलिफोन तथा इन्टरनेट सेवा प्रयोगमा कठिनाइ भइरहेको समस्याबारे केही दिनअघि नेपाली कांग्रेस शिवपुरी गाउँपालिका सभापति प्रह्लाद थापाको नेतृत्वमा स्थानीय प्रतिनिधिहरूले सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग छलफल गरेका थिए।

टोलीले मन्त्रालयमा पुगेर गरेको छलफलमा सञ्चार मन्त्रालयका शिव थापा तथा नेपाल टेलिकमका प्राविधिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टेलिकमको प्रणालीबाट टावरहरूको अवस्था परीक्षण गर्दा प्राविधिक समस्या स्पष्ट नदेखिएपछि वास्तविक अवस्था बुझ्न स्थलगत निरीक्षण गर्न निर्देशन दिइएको थियो।

सोही निर्देशनअनुसार प्राविधिक टोलीले मंगलबार शिवपुरी गाउँपालिका–७ को सुइरेचौर, वडा नं. ६ को महादेवडाँडा र वडा नं. ३ को मैदानमा रहेका मोबाइल टावरहरूको भौतिक निरीक्षण गरेको हो। टोलीले टावरहरूको प्राविधिक अवस्था, नेटवर्क पहुँच तथा स्थानीयले भोग्दै आएका समस्याबारे जानकारी लिएको थियो।

निरीक्षणका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गर्दै नेटवर्कको समस्या, सेवा प्रवाहको अवस्था र समाधानका सम्भावित उपायबारे समेत अध्ययन गरिएको थियो।

यसैबीच, देशका विभिन्न स्थानमा मोबाइल नेटवर्कको पहुँच विस्तार गर्ने सरकारी योजनाअनुसार शिवपुरी–५ को नेपानेमा नयाँ टावर स्थापना गर्न आवश्यक जग्गाको स्थान पहिचान गरिएको छ।

स्थलगत निरीक्षण र प्राविधिक अध्ययनबाट शिवपुरीका विभिन्न बस्तीमा देखिएको नेटवर्क समस्याको वास्तविक कारण पहिचान गरी सेवा सुधारका लागि आवश्यक पहल हुने अपेक्षा गरिएको छ।

वर्षौंदेखि कमजोर मोबाइल नेटवर्कका कारण सञ्चार सेवाबाट प्रभावित शिवपुरीवासीले प्राविधिक निरीक्षण र नयाँ टावर निर्माणको पहललाई सकारात्मक रूपमा लिएका छन्। निरीक्षणबाट पहिचान भएका समस्या समाधान तथा नेपानेमा नयाँ टावर निर्माणको काम शीघ्र अघि बढाउन स्थानीयले अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्