३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाइने



काठमाडौं, साउन १६ । कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्ने निर्णय गरेसँगै विद्यालय तहको अन्तिम परीक्षामा ‘नट ग्रेडेड’ (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन् ।

विद्यार्थीले ‘नट ग्रेडेड’ अंक नकटाएसम्म ट्रान्सक्रिप्ट पाउँदैनन् । बोर्डले अनिवार्य रूपमा ३५ प्रतिशत अर्थात् डी ग्रेड पाएकालाई मात्र उत्तीर्ण भएको मान्यता दिने भएपछि माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या ह्वात्तै घट्ने अनुमान गरिएको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कार्यविधिअनुसार सैद्धान्तिक परीक्षामा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरिएको जानकारी दिँदै ‘३५ प्रतिशतभन्दा कम अंक ल्याउने अनुत्तीर्ण वा सोसरह हुनेछन् । डी वा सोभन्दा कम ग्रेड ल्याउने विद्यार्थीलाई २ विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।’

गत वर्षसम्म विद्यार्थीले पाएको अंकलाई ९ समूहमा विभाजन गरिएको थियो । यो वर्ष ८ समुह रहने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा डी प्लस र ई समूह हटाइएको छ । नयाँ कार्यविधिमा डी प्लस हटाइएको छ । ए प्लसदेखि सि सम्म १० अंकको फरक गरिएको छ भने डि मा ५ अंकको फरक उल्लेख छ ।

गएको वर्ष ए प्लसदेखि ई सम्म १० अंक फरक थियो । यो वर्ष ४ लाख १० हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन् । उनीहरू परीक्षाफलको प्रतिक्षामा छन् । बोर्डले भदौको अन्तिम वा असोज पहिलो साता परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको छ । कक्षा १२ मा अनिवार्य ३ सहित ६ विषय छन् । तर, विद्यार्थीले चाहेमा थप एक विषयसमेत गरी ७ विषयमा परीक्षा दिन पाउँछन् ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्