कोरोना अपडेट: एकैदिन ९१५ जनामा कोरोना पुष्टि



काठमाडौं,साउन १८ । नेपालमा २४ घण्टामा ९१५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार दुई जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९१५ जनामा कोरोना पुष्टि भएको हो ।

तीन हजार ९१ जनाको पीसीआर गर्दा ५९० र दुई हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जना सङ्क्रमित भएका हुन् । पछिल्लो २५ घण्टामा परीक्षण गरिएकामध्ये १५.२४ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी ४२२ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा ३३७, भक्तपुरमा ३२ र ललितपुरमा ५३ जना रहेका छन् ।

सोही समयमा ३०१ जना सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३३ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्