‘द भ्वाइस अफ नेपाल सिजन ४’ मा दुई निर्णायक परिवर्तन



काठमाडौं,साउन १९ । ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी रहेका छन् । त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाउने भएका छन् ।

गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ । सिजन–४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिशनमा सहभागी भएका करिब ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन् ।

अडिशनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ । भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बासोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरुले पनि अडिसनमा सहभागीता जनाएको आयोजकको भनाइ छ ।

कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजिमा जोड दिने बताए । त्यस्तै गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताइन् । उनले वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैँमा कठिन रहेको बताइन् । तीन सिजनसम्म निर्णायक रहेका वरिष्ठ गायक दीप श्रेष्ठले भने यस सिजनमा विश्राम लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्