पर्वत अस्पतालमा जनशक्ति नहुँदा बिरामीलाई सास्ती



पर्वत,साउन २३ । गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्ति अभाव भएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण तथा प्रभावितहरूको उपचारका लागि करारमा राखिएका २१ जना स्वास्थकर्मी हटाएपछि अस्पतालमा जनशक्तिको अभाव भएको हो । जिल्ला अस्पतालमै आवश्यकता अनुसार जनशक्ति नभएपछि बिरामीले सास्ती भोग्नुपरेको छ ।

यसअघि कोभिड–१९ नियन्त्रणका लागि भन्दै सरकारले २१ जना स्वास्थ्यकर्मी र चार जना कार्यालय सहयोगीलाई करारमा राखेको थियो । उनीहरू एक वर्षदेखि अस्पतालको आकस्मिक, केभिड–१९ को आइसोलेसन वार्ड, ओपीडी, ल्याब लगायत विभिन्न विभागमा कार्यरत थिए । प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा सेवा दिनै कठिन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताइन् ।

जिल्ला अस्पतालमा निर्माण भएको नयाँ भवनबाट सेवा शुरू भएपछि बिरामीको उपचार सहज र उपचारमा पनि पहुँच बढ्ने अपेक्षा गरिएको थियो । तर, प्रदेश सरकारले जनशक्ति कटौती गर्ने निर्णय गरेपछि बिरामीले सास्ती भोग्नुपरेको छ ।

१५ शय्याको अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने योजना अनुसार अस्पतालमा करोडौं रुपैयाँ लगानी गरी अत्याधुनिक भवनहरू बनेका छन् । पुरानो भवनबाट नयाँ भवनमा स्थानान्तरण भएपछि सेवा विस्तार हुनुपर्नेमा जनशक्ति अभावले सेवा प्रवाह खुम्चिएको छ । ‘नयाँ भवनमा सरेपछि सेवा विस्तार हुनुपर्ने हो । तर यही बेलामा कर्मचारीहरूको करार थप नभएपछि कसरी सेवा बढाउन सक्नु ? भएकै कर्मचारीहरूले पनि कार्यालय समयको भन्दा बढी समय दिएर अहिलेसम्म धानिरहेका छौं,’ डा. अधिकारीले भनिन् ।

अस्पतालमा कोठा, सुविधायुक्त शय्याहरू, अत्याधुनिक प्रविधिका उपकरणहरू भएपछि सर्वसाधारणले अस्पतालप्रति विश्वास बढाएको उनको भनाइ छ । तर जनशक्ति अभावमा नागरिकको अपेक्षा पूरा हुन नसक्ने अवस्था आएको उनले बताइन् ।

अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायका अनुसार अहिले अस्पतालमा आठ जना मेडिकल अधिकृत, दुई जना डेन्टल अधिकृत, ल्याबमा पाँच जना, इमर्जेन्सीमा पाँच जना, इन्डोरमा छ जना, एक्सरेमा दुई जना, फार्मेसीमा तीन जना र काउन्टरमा पाँच जना कार्यरत छन् । यीबाहेक सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरूमार्फत उपलब्ध गराएका केही कर्मचारीहरू कार्यरत छन् । त्यसरी आएका केही कर्मचारीको पनि करार सम्झौता सकिएको छ । अहिले दुई जना कार्यालय सहयोगी सहित १२ जना कर्मचारीहरू स्थायी दरबन्दीमा छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्