कपिलवस्तु चन्द्रौटामा प्रदेशस्तरीय अस्पताल अलपत्र



कपिलबस्तु,साउन २४ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको १ वर्ष बित्दा पनि अझैसम्म काम शुरू हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि २०७८ असार ३० गते बोलपत्र प्रकाशित गरेको थियो । विविध कारण देखाएर भवन निर्माण कार्य अझैसम्म शुरू हुन नसक्नु दुःखद भएको स्थानीय रहिस शाहले बताए । प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटामा ल्याउन पहल गरेका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले अब केही महिनामा अस्पतालको भवन निर्माण कार्य थालिने बताए ।

केसीले भने, ‘संघबाट बजेट निकासा भई प्रदेश स्वास्थ्य मन्त्रालयमा आएको छ, प्रदेश स्वास्थ्य मन्त्रालयले शहरी विकास कार्यालयलाई भवन निर्माणको लागि ठेक्का दिइसकेको छ ।’ चन्द्रौटा हाटबजार नजिकैको पूर्वपट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको वन क्षेत्रमा पर्ने ९ बिघा जग्गामा अस्पताल बन्ने भएको छ । अस्पताल बनाउन २ अर्ब रुपैयाँ लाग्नेछ । निर्माण अवधि २ वर्षको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटा क्षेत्रमा निर्माण गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्