भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने



बाँके,साउन २५। भेरी अस्पताल नेपालगन्जमा लक्षित वर्गका असहाय र निमुखा व्यक्तिले सिफारिसबिनै उपचार पाउने भएका छन् । अब लक्षित वर्गका असहाय र निमुखालाई निःशुल्क वा सहुलियत उपचारका लागि स्थानिय तहको सिफारिस अनिवार्य नहुने भएको हो । सिफारिसले लक्षित वर्गका असहाय र निमुखा बिरामीनै सेवाबाट वञ्चित हुने अवस्था देखिएपछि सिफारिस हटाइएको अस्पतालले जनाएको छ । तर उक्त सेवा लिन केही आवश्यक कागजात र प्रक्रिया भने पुरा गर्नुपर्नेछ। यस्ता कार्यक्रमहरूको निम्ति आर्थिक अवस्थाको जानकारी दिने स्थानिय तहको सिफारिस पत्र अनिवार्य जस्तै रहिआएको थियो ।

तर यथार्थमा त्यस्तो सिफारिस जुनसुकै आर्थिक र सामाजिक हैसियत भएका व्यक्तिहरूले पनि लिएर आउने र सहुलियतको निम्ति दावी गर्ने गरेको पाइयो। यसले गर्दा लक्षित वर्गका असहाय र निमुखा बिरामीनै सेवाबाट वञ्चित हुने गरेको पाइएकोले भाद्र १ गते देखि भेरी अस्पतालमा निः शुल्क वा सहुलियत उपचार गर्नको निम्ति स्थानिय तहको सिफारिस अनिवार्य नहुने कुराको जानकारी गराउँदछौं। अस्पतालले मंगलवार जारी गरेको सूचनामा भनिएको छ । भदौ १ गतेबाट लागू हुने गरी निःशुल्क वा सहुलियत उपचारका लागि स्थानिय तहको सिफारिस हटाइएको अस्पतालका निर्देशक डा डा बद्री चापागाईँले जानकारी दिए । वयस्कको हकमा नेपाली नागरिक भएको पहिचान खुल्ने कुनैपनि प्रमाणर नाबालकको हकमा अभिभावकको परिचयपत्रलाई नै आधार मानेर सेवा दिने अस्पतालले जनाएको छ ।

आर्थिक सहुलियत उपयुक्त हुने लागेमा उपचारमा संलग्न कन्सल्टेन्ट चिकित्सकले ५० प्रतिशतसम्म सहुलियतको निम्ति सिधै सिफारिस गर्न सक्नेछ भने सम्बन्धित विभागिय प्रमुखको सिफारिसमा नेपाल सरकारको मापदण्डमा रही बिरामीको उपचारमा सतप्रतिशतसम्म सहुलियत दिन सकिने चापागाइँले बताए । उनका अनुसार सामाजिक सेवा इकाइमार्फत प्रवाह गरिने सेवाहरूलाई सहज रुपमा सेवाग्राहीसम्म पुर्‍याउन बहिरंग सेवामा २५०० र अंतरंग सेवातर्फ १०००० रुपैया भन्दा बढीको रकम स्विकृत गर्नुपरेमा मेडिकल सुपरिन्टेन्डेन्टबाट गराउनु पर्नेमा अब त्यो अधिकार नर्सिङ प्रशासकमा प्रत्यायोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्