कोरोना अपडेट: सङ्क्रमणबाट पाँचको मृत्यु, ८१५ सङ्क्रमित



काठमाडौं,साउन २६ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो ।

नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९८२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८१५ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५३४ कोरोना परीक्षण गर्दा ८१५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

दुई हजार ४११ पीसीआर परीक्षण गर्दा ४६५ र दुई हजार १२३ एन्टिजेन परीक्षण गर्दा ३५० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ४७६ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्