सांसद तामाङको माग- ‘तत्काल नुवाकोटका बाढी तथा पहिरो पीडितलाई राहत दिलाइयोस’



काठमाडौँ,साउन २९ । नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले बाढी तथा पहिरो पीडितलाई तत्काल राहतको ब्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा आइतबार आफ्नो धारणा राख्दै सांसद तामाङले नुवाकोट जिल्लाका विभिन्न ठाउँमा पहिरो र बाढीले नागरिकको बस्ने घर र खाने अन्नबाली नष्ट गरेकाले तत्काल राहतको ब्यवस्था गर्न माग गरेका छन् ।

गत साउन २४ गते राति परेको भीषण वर्षासंगै गएको बाढी पहिरोले पहिरोले जिल्लाको तादी खोला क्षेत्रमा, आवतजावतको मुख्य सडकमा रहेको ढिकुरेपुल, आप्रहको पक्की पुल, सातबिषेको पक्की पुल, भ्याङ्लेको पक्की पुल,दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ चन्द्रावती को निर्माणाधीन पुल क्षतिग्रस्त बनाएको सांसद तामाङले बताए ।

त्यस्तै बुद्धभूमिको हेड गेटमा क्षति पुर्याएको, दुप्चेश्वरका राउतवेशी, सानोगोल्फुमा बाढी तथा पहिरोले नागरिकको जनधनको क्षति पुगेको, सुर्यगढीको १,बुलबुले सेम्राङ,काउले ,सानो भोर्ले, शिवपुरी गाउँपालिका वडा नम्बर १, ५ का जेब्राङ,मझुवा, गुर्जे , ककनीका १ देखि ८ वटै वडा, लगायत विभिन्न स्थानमा सयौं नागरिकको घरजग्गा बगाएको बताउदै तत्काल राहतको ब्यवस्थापन गर्न माग गरेका छन् ।सांसद तामाङले तत्काल भूगर्वविदलाई सम्बन्धित ठाउँमा खटाई अध्ययन गर्न पनि माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्