यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे
काठमाडौं,कात्तिक १७। यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटीकाका लागि उक्त समय शुभसाइत निर्धारण गरिएको हो ।
समितिका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ भने कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक २३ गते सोमबार गाईपूजा तथा कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइने समितिले जनाएको छ ।
समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ ।

