परराष्ट्रमन्त्री खनाल र इयूका नवनियुक्त राजदूत ह्वाइटलीबीच भेटवार्ता



काठमाडौं,कात्तिक १७ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

भेटका क्रममा नेपाल र युरोपेली सङ्घबीचको आपसी सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस अवसरमा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्