विराटनगर किङ्सको रोमाञ्चक जित, जनकपुर दुई रनले पराजित
काठमाडौं,कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमा समेटियो ।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए । उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुसलिङले ३० बलमा ४३ रन तथा जेम्स निसमले १५ बलमा २७ रनको योगदान दिए ।
विराटनगरका बलर आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । विराटनगरका इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्काको मद्दतले सर्वाधिक ५६ रन बनाए ।
आन्द्रे रसेलले २९ बलमा २ चौका र ५ छक्कासहित अविजित ५२ रन जोडे । लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाए । शुभम रञ्जाने ७ रनमा अविजित रहे ।
जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।
यस जितसँगै चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित चार अङ्क जोडेको छ । समान चार खेल खेलेको जनकपुरले पनि दुई जित र दुई हारसहित चार अङ्क बनाएको छ ।

