खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्कासन गर्ने



काठमाडौं,साउन ३०। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले जारी पूँजी रु.४ करोडको प्रतिशेयर रु. १०० अंकित मूल्यका रु.१ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा माग मबोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।  

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्