मोबाइलको गैरकानूनी कारोबार रोक्न एमडीएमएस लागू हुँदै



काठमाडौं,भदौ १। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोनको गैरकानूनी कारोबार रोक्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।

सोमवार मोबाइल आयातकर्तासँगको छलफलपछि आगामी भदौ ३० गतेदेखि एमडीएमएस लागू गर्ने निर्णय गरिएको हो । मोबाइल आयातकर्ता संघ र प्राधिकरणबीच एमडीएमएस कार्यान्वयनका ल्याउने सम्झौता गरिएको हो ।

अनधिकृत रूपमा नेपाल भित्रिने मोबाइल फोन नियन्त्रणका लागि एमडीएमएस प्रभावकारी हुने अपेक्षा दुई पक्षले लिएका छन् । मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपककुमार मल्होत्राले मोबाइल फोनको अवैध कारोबार रोक्न एमडीएमएस कार्यान्वयन अपरिहार्य रहेको बताए ।

मोबाइल फोनको अनधिकृत आयातले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको दाबी गर्दै उनले एमडीएमएस लागू गर्न ढिला गर्न नहुने बताए ।

संघका उपाध्यक्ष सञ्जय अग्रवालले आगामी ३० भदौदेखि औपचारिक रूपमा एमडीएमएस लागू हुने बताए । अवैध मोबाइल फोनको कारोबार रोक्न प्राधिकरणले शतप्रतिशत प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० देखि एमडीएमएस लागू हुन कसैले पनि रोक्न नसक्ने दाबी गरे ।

पछिल्लो समय सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउन मोबाइल फोनको आयातमा कडाइ गरे पनि गैरकानूनी रूपले मोबाइल फोनको आयात भइरहेको आयातकर्ता संघको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्