आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



काठमाडौँ,कात्तिक १७ । सरकारले आज र भोलि दुई दिन देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि निःशुल्क खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । थापाले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा लगेर औषधि खुवाउन आग्रह गर्नुभएको छ ।

सरकारले बालबालिकामा कुपोषण तथा स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा विसं २०५० देखि भिटामिन ‘ए’ र विसं २०५६ देखि जुकाको औषधि नियमित रूपमा खुवाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्