सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु



सोलुखुम्बु,कात्तिक १७ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ बजे डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा मृत्यु भएका विदेशी नागरिकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका यात्रुलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको छ ।

घाइतेको अवस्था, हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

हिमाली क्षेत्रमा भएको दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान तथा विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्