नेपाल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं,भदौ २ । नेपाल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  बुधवार काठमाडौंमा आयोजित विशेष समारोहका बीच प्राधिकरणले वार्षिकोत्सव मनाएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल करीब ९६ प्रतिशत जनताले विद्युत्को सेवा प्राप्त गर्ने गरेको जानकारी दिए । हाल ४२ जिल्ला पूर्णरूपमा विद्युत् सेवा पुगेको उनले बताए । आगामी दुई वर्षभित्र शतप्रतिशत जनतालाई विद्युत्को सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरण दिनरात लागिपरेको उनको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले ३५ वर्षको इतिहासमा प्राधिकरणले गतवर्ष सबैभन्दा बढी रू. १६ अर्ब १६ करोड ५० लाख नाफा आर्जन गर्न सकेको पनि जानकारी गराए । नाफाको यो आकार अझै बढ्दै जाने उनले बताएका छन् ।

‘प्राधिकरणको सौर्य प्लान्टसहित कुल ७३५ मेगावाट विद्युत् गतवर्ष प्रणालीमा थप भएसँगै वर्षायाममा मागभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने अवस्थामा हामी आइपुगेका छौं,’ उनले भने, ‘भारत सरकारबाट हाल ३६४ मेगावाट विद्युत् निर्यात गर्न अनुमति प्राप्त भएकाले ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत दैनिक करीब ४०० मेगावाट विद्युत् विक्री गर्न सफल भएका छौं ।’

विगत ६ वर्षअघि २५ दशमलव ७८ प्रतिशत रहेको चुहावट हाल १५ दशमलव ३८ प्रतिशतमा झारिएको घिसिङले जानकारी दिए । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६ ओटा सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । यस्तै १३८३ एमभीए क्षमताका ग्रीड सबस्टेशनहरू निर्माण पूरा गरी सञ्चालनमा ल्याइएको घिसिङले बताए ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट काम गरेको भन्दै १५ कर्मचारी र मातहतका १७ कार्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्