चौथो संस्करणको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड असोज ६ मा, विभिन्न विधामा १७ अवार्ड दिइने

काठमाडौं,भदौ ४ । चौथो संस्करणको ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड’ आगामी असोज ६ गते आयोजना हुने भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले शुक्रवार काठमाडौंमा कार्यक्रम आयोजना गरी अवार्ड कार्यक्रमको मिति घोषणा गरेको हो । यसअघि उक्त अवार्ड राष्ट्रिय फोटो पत्रकारिता दिवस अर्थात् वैशाख १३ गते आयोजना गरिन्थ्यो । काेराेना भाइरसकाे महामारीपछि अवार्ड हुन सकेकाे थिएन ।
एनफएपिजे नेपालको २५ औं वार्षिकोत्सवमा गरिन लागिएको उक्त कार्यक्रममा विभिन्न १७ विधामा अवार्ड दिइने छ, जसमा राष्ट्रिय स्तरमा ९ विधामा र प्रदेश स्तरमा ७ ओटा (हरेक प्रदेशमा १–१ जनालाई) अवार्ड दिइने छ ।
राष्ट्रिय स्तरमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’सँगै ‘दैनिक जीवन फोटो पत्रकारिता विधा’, ‘खेलकुद फोटो पत्रकारिता विधा’, ‘महिला फोटो पत्रकारिता विधा’, ‘पर्यटन तथा संस्कृति फोटो पत्रकारिता विधा’ ‘आर्थिक फोटो पत्रकारिता विधा’, ‘राजनीतिक फोटो पत्रकारिता विधा’, ‘मनोरन्जन फोटो पत्रकारिता विधा’ र ‘स्वतन्त्र फोटो पत्रकारिता विधा’मा उत्कृष्ट १–१ जनालाई अवार्ड दिइनेछ ।
‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ भने लामो समयदेखि फोटो पत्रकारिता गरी निवृत्त भएकालाई दिइने आयोजकले जनाएको छ । यो अवार्ड पाउनेलाई ५० हजार रूपैयाँ, ट्रफी र सम्मानपत्र दिइनेछ ।
कार्यक्रममा २५ जना फोटो पत्रकारहरूलाई सम्मानसमेत गरिने आयोजक एनएफपिजे नेपालले जनाएको छ ।
अवार्डमा सहभागिताका लागि योग्यता पुगेका फोटो पत्रकारहरूले एनएफपिजे नेपालको वेबसाइटबाट आवेदन फाराम भरी यही भदौ २५ गते राति १२ बजेसम्म एनएफपिजे नेपालको इमेलमा पठाउन भनिएको छ ।
अवार्ड छनाेटका लागि बढीमा ५ जनाको समिति बनाइने आयोजकले जनाएको छ ।