व्यवस्था परिवर्तनमा मुख्य भूमिका माओवादीको हो रजाँई अरुले गरे: शिक्षा मन्त्री पौडेल



पोखरा,भदौ २५ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाई गरेकाले समस्या भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार माेर्चामा लाग्न निर्देशन समेत दिए ।

उनले माओवादी कमजाेर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले आगामी चुनावमा जित्नु पर्ने बताए ।

उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै आफ्नै मिडियाकाे विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र साेसल मिडियाकाे प्रभावकारी उपयाेग गरेर अगाडि बढ्न आग्रह गरे ।

प्रेस सेन्टर नेपालकाे गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेकाे अध्यक्षतामा भएको बैठकमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकाेटा, माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज हितराज पाण्डे, अध्यक्ष गायत्री गुरुङ, पाेलिटव्युराे सदस्य राजकाजी गुरूङ, पाेलिटव्युराे सदस्य किशन शर्माको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षहरू शुरेशचन्द्र अधिकारी, निर्मल ज्ञवाली, लक्ष्मण खड्का, त्रिभुवन पाैडेल, प्रदेश महासचिव सन्ताेष पाैडेल सहितका पदाधिकारी र प्रदेश तथा जिल्लाका नेताहरूकाे उपस्थिती रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्