खसी बजारमा बालेनले डोजर चलाउने डर : खसी बोका लिनै गएनन् व्यवसायी
काठमाडौं,असोज ५ । नेपालीहरूको सबैभन्दा ठूलो चाँड दशैं शुरू हुन अब ६ दिन मात्रै बाँकी छ । अर्थात घटस्थापाना शुरू हुन ६ दिनभन्दा कम समय मात्रै बाँकी छ ।
काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घटस्थापनाकै दिनदेखि खसी, बोका र च्याङ्ग्रा बेच्न शुरु गर्छ । कम्पनीले हरेक वर्ष दशैंमा मात्रै करीब ३ हजार हाराहारी खसी बोका र च्याङ्ग्रा बेच्दै आएको छ । यहिँबाट दशैंको चहलपहल ह्वात्तै बढ्ने गरेको पाइन्छ ।
तर खाद्य संस्थानले बेच्ने खसी, बोका र च्याङ्ग्रा काठमाडौंमा खपत हुने कुल खसी बोकाको ५ प्रतिशत हाराहारी मात्रै हो । उपत्यकामा अहिले दशैंको लागि मात्रै करीब ६० हजार खसी बोका र च्याङ्ग्रा खपत हुने गरेको व्यवसायीहरू बताउँछन् ।
बाँकी ९५ प्रतिशत भन्दा बढी माग निजी क्षेत्रले नै धान्ने गरेको छ । निजी क्षेत्रको पनि सबैभन्दा बढी हिस्सा कलंकी स्थित खसी बजारले लिने गरेको छ ।
तर, यो पटक काठमाडौं उपत्यकामा करीब ७० प्रतिशत खसी बोका आपूर्ति गर्ने कलंकी खसी बजारका व्यवसायीहरू खसी बोका लिन गाउँ गएकै छैनन् ।

