थप उपचारका लागि डा. केसीलाई काठमाडौं ल्याइयो



काठमाडौं,कात्तिक १६ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २५औँ पटक सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रहमा बस्नुभएका केसीको स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको हो।

इलाम अस्पतालका प्रमुख डा. अमिताभ ठाकुरको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले आइतबार पत्रकार सम्मेलन गरी केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएको थियो। टोलीका अनुसार उहाँको मुटुको धड्कनमा समस्या देखिनुका साथै रगतमा ग्लुकोजको मात्रा घट्दै गएको थियो।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि तत्काल हेलिकप्टरमार्फत उद्धारको व्यवस्था मिलाउन इलाम अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो।

इलाम अस्पतालको चिकित्सक टोलीले निरन्तर निगरानी र उपचार गरिरहे पनि थप उपचार आवश्यक देखिएपछि केसीलाई काठमाडौं ल्याइएको हो। उहाँलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। त्यहाँ उहाँको थप उपचार गरिनेछ।

प्रतिक्रिया दिनुहोस्