आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
काठमाडौं,कात्तिक १६ । आज देशका हिमाली तथा पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशको तराईका एक/दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको थियो । देशका अधिकांश स्थानमा भने मौसम सफा रहेको छ ।
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव समाप्त भएसँगै हिजोदेखि देशभरको मौसममा सुधार आएको हो । बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना रहे पनि त्यसको प्रभाव नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।
नयाँ मौसमी प्रणालीको प्रभाव नेपालमा नपर्ने देखिएकाले मौसमविद्हरूले किसानलाई ढुक्क भएर धान काट्न सुझाव दिएका छन् । मौसमविद्का अनुसार आगामी दुई सातासम्म नेपालमा ठूलो वर्षा गराउने प्रणाली आउने सम्भावना छैन ।
यसअघि भारतीय मौसम विज्ञान विभागले दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढिरहेको र चक्रवाती आँधीमा परिणत हुने क्रममा रहेको जनाएको थियो ।

