अमेरिकाको फ्लोरिडामा निजी विमान दुर्घटना, नौ जनाको मृत्यु



काठमाडौं,कात्तिक १६ । अमेरिकाको फ्लोरिडामा नौ जना सवार निजी विमान दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका सबैको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार आइतबार दक्षिण फ्लोरिडाको ग्रिनएकर्स सहरस्थित आवासीय क्षेत्र नजिकै विमान खसेर सडकमा ठोक्किएको थियो । दुर्घटनापछि विमानमा ठूलो आगलागी भएको थियो भने घटनास्थलमा बाक्लो कालो धुवाँ फैलिएको थियो ।

अमेरिकी यातायात सचिव शन डफीले लियरजेट ६० नामको विमान दिउँसो १२ः५० बजे पाम बिच काउन्टीमा दुर्घटनाग्रस्त भएको जानकारी दिँदै घटनालाई अत्यन्त दुःखद दुर्घटना बताउनुभएको छ ।

फ्लोरिडाका गभर्नर रोन डेसान्टिसका अनुसार विमान बस्ती नजिकै खसे पनि जमिनमा रहेका मानिस घाइते वा मृत्यु भएको तत्काल कुनै जानकारी प्राप्त भएको छैन । दुर्घटनापछि सडकमा ठूलो खाल्डो परेको थियो ।

टेक्ससको अस्टिन विमानस्थलबाट बहामासतर्फ उडेको उक्त विमान दुर्घटनाको कारण खुल्न सकेको छैन । उडानका क्रममा चालकले तीव्र हावाको उतारचढाव, वर्षा र विमानमा बरफ जमेको जानकारी दिएका थिए ।

केही समयपछि विमान तीव्र गतिमा तल झर्न थालेको थियो । हवाई आवागमन नियन्त्रण कक्षको अभिलेखअनुसार विमान प्रतिमिनेट १० हजारदेखि ३० हजार फिटसम्मको गतिमा तल झरेको थियो । चालकले आपत्कालीन अवस्थाको घोषणा गर्दै सहयोग मागेका थिए । उनले रेडियोमार्फत आफूहरू जमिनमा ठोक्किने अवस्थामा रहेको बताएका थिए ।

दुर्घटनापछि अधिकारीहरूले नजिकैको मोबाइल घर बस्तीबाट करिब ६०० जनालाई सुरक्षित स्थानमा सारेका छन् । घटनाको अनुसन्धानका लागि संघीय उड्डयन प्रशासनले राष्ट्रिय यातायात सुरक्षा बोर्डलाई सहयोग गर्न टोली पठाएको छ । अनुसन्धान जारी रहेकाले घटनास्थल आसपासका सडकसमेत बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्