विद्युतीय माध्यमबाट मासिक ५६ खर्बभन्दा बढी कारोबार



काठमाडौं,असोज ७ । विद्युतीय भुक्तानीका माध्यमबाट मासिक ५६ खर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ । विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण र सेवा विस्तारमा बैंक तथा वित्तीय संस्थाले दिएको प्राथमिकताले प्रयोगकर्ताको संख्यासँगै कारोबार रकम पनि बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २०७९ साउनमा विद्युतीय भुक्तानीमार्फत ५६ खर्ब ८८ अर्ब ८२ करोड रुपैयाँ बराबर कारोबार भएको छ । १ वर्षअघिको तुलनामा यो कारोबार रकम ५७ प्रतिशतले बढी हो । २०७८ साउनमा विद्युतीय भुक्तानीमार्फत ३६ खर्ब १२ अर्ब ८ करोड रुपैयाँ कारोबार भएको थियो ।

गत असारको तुलनामा भने साउनमा विद्युतीय भुक्तानी कारोबारमा थोरै कमी देखिएको छ । असारमा विद्युतीय भुक्तानीमार्फत ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । असारमा खाताबन्दीका कारण अन्य महीनाको तुलनामा कारोबार बढी देखिएको हो ।

राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सरकारको नीति र सर्वसाधारणको आकर्षणका कारण विद्युतीय भुक्तानी कारोबार बढेको बताउँछन् । कोभिड–१९ महामारीपछि विद्युतीय भुक्तानी कारोबार ह्वात्तै बढेको उनले जानकारी दिए ।

कोभिड–१९ महामारीअघि नेपालमा विद्युतीय भुक्तानीका उपकरणमार्फत मासिक १२–१३ खर्ब रुपैयाँ मात्र कारोबार हुने गरेको थियो । राष्ट्र बैंकका अनुसार हाल नेपालमा बैंक तथा वित्तीय संस्थाका अतिरिक्त विभिन्न भुक्तानी प्रणाली सञ्चालक तथा सेवाप्रदायक कम्पनीले विद्युतीय माध्यमबाट भुक्तानी सेवा दिइरहेका छन् ।

हाल नेपालमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस), एटीएम, विद्युतीय चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, डेबिट/क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, वालेट, क्यूआर कोड, पीएसओ र ई–कमर्स जस्ता विद्युतीय भुक्तानी उपकरणबाट कारोबार हुने गरेको छ । कारोबारका आधारमा सबैभन्दा बढी आरटीजीएसमार्फत हुने गरेको छ । मोबाइल बैंकिङका प्रयोगकर्ता सबैभन्दा बढी छन् ।

राष्ट्र बैंकका अनुसार गत साउनमा आरटीजीएसमार्फत ४३ खर्ब ७२ अर्ब रुपैयाँ कारोबार भएको छ । एक बैंक खातामार्फत अर्को बैंक खातामा ठूलो रकम तत्काल भुक्तानी गर्न र सरकारको कर तिर्न यो उपकरण प्रयोग हुने गरेको छ ।

२०७९ साउनसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ८६ लाख ४३ हजार ८३४ जना पुगेको छ । असारको तुलनामा साउनमा ३ लाख ३६ हजार ५७९ जनाले मोबाइल प्रयोगकर्ता बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

मोबाइल बैंकिङपछि धेरै प्रयोगकर्ता मोबाइल वालेटको छ । राष्ट्र बैंकका अनुसार साउनमा वालेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख ९४ हजार ६२२ पुगेको छ । त्यस्तै डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड १० लाख ८० हजार ९५० पुगेको छ ।

विद्युतीय कारोबारलाई प्रोत्साहन दिन राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार अनिवार्य रूपमा चेकबाट गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै विद्युतीय भुक्तानी कारोबारको सीमा बढाउनुका साथै नेपाल क्लियरिङ हाउसमा पेमेन्ट स्विचसमेत स्थापना गरिएको छ । राष्ट्र बैंकले हाल प्रिपेड कार्डबाट प्रतिदिन २० हजार र प्रतिमहीना २ लाख तथा डेबिड कार्डबाट प्रतिदिन १ लाख र प्रतिमहीना ४ लाख कारोबार गर्न पाइने गरी सीमा तोकेको छ । यस्तै मोबाइल बैंकिङबाट दैनिक २ लाख तथा इन्टरनेट बैंकिङबाट २० लाख रुपैयाँसम्म कारोबार गर्न पाउने व्यवस्था छ । वालेटमार्फत भने कारोबारका आधारमा प्रतिदिन १ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको सीमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्