सामाजिक सुरक्षा कोषका दुई कार्यविधि स्वीकृत : १० घातक रोगको उपचारमा रू. १० लाखसम्म कोषले बेहोर्ने



काठमाडौं,असोज ७ । सामाजिक सुरक्षा कोषले ल्याएका दुई कार्यविधि स्वीकृत गरिएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (तेस्रो संशोधन) र योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीवार स्वीकृत गरेको कोषले जानकारी दिएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को तेस्रो संशोधन स्वीकृत भएको मितिले ९१औं दिनदेखि लागू हुने व्यवस्था छ, जसअन्तर्गत कोषले योगदानकर्तालाई १० घातक रोगको उपचारका लागि १० लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने भएको छ । कोषले योगदानकर्तालाई कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगको उपचार खर्च दिने भएको हो ।

कोषमा लगातार दुई वर्ष योगदान गरेका योगदानकर्ताले ती रोगको उपचारका लागि सेवा अवधिभर १० लाखसम्मको उपचार खर्च पाउनेछन् । घातक रोगको औषधोपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागू रहनेछ । कोषको वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म घातक रोगसम्बन्धी सुविधा उपयोग गर्न सकिने गरी विशेष व्यवस्था गरिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

योगदानकर्ताले प्राप्त गर्दै आएको औषधोपचार सुविधा निजको पति वा पत्नीसमेतले पाउनेगरी व्यवस्था गरिएको कोषले जानकारी दिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको तीन वर्षको अवधिमा कोषले योगदानकर्ताको हितलाई ध्यान दिँदै विभिन्न योजनामा निरन्तर रूपमा सुधार गर्दै आएको छ ।

यसैगरी योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ मा योगदानकर्ताका सन्ततिलाई चिकित्सा विज्ञान, इन्जिनीयरिङ, नर्सिङ, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ । योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम आगामी शैक्षिक सत्रदेखि लागू हुनेछ । प्रतिव्यक्ति बढीमा ५ लाख रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिनेछ ।

आगामी दिनमा समेत यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने कोषको प्रतिबद्धता छ । हालसम्म कोषमा १७ हजार ४ सय १७ रोजगारदाता र ३ लाख ६४ हजार ७४१ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा २३ अर्ब ४० करोड योगदान रकम संकलन भएको छ । कोषले २ अर्ब २६ करोड दाबी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्